गोडैता, १६ भदौ – सर्लाहीको गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्दै आज प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
बलराको साटो गोडैतामै इलाका प्रशासन कार्यालय खोल्नुपर्ने मागसहित गोडैता बजार र जिल्ला प्रशासन कार्यालय मलंगवा अगाडि प्रदर्शन गर्न लागिएको हो । यही मागसहित आज गोडैता बजारसमेत बन्द गर्ने तयारी भइरहेको बुझिएको छ ।
यसैबिच, बलराको साटो गोडैतामै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाइएको छ । गृहमन्त्री लेखक हिजो वीरगन्ज आएका अवसरमा बलरा भन्दा पनि गोडैतामा अति पायक पर्ने भएकाले गोडैतामै कार्यालय स्थापना गर्न माग गर्दै सर्वपक्षिय ध्यानाकर्षण पत्र बुझाइएको हो ।
मन्त्रिपरिषद्को भदौ ९ गते बसेको बैठकले गोडैता नगरपालिका, विष्णु गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका र धनकौल गाउँपालिकाका लागि बलरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा सो निर्णय पाँचवटै पालिकाको जनताको सेवा सुविधा र सुरक्षाको हिसाबले अनुपयुक्त रहेको सर्वपक्षिय ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
भारतको बोर्डर छेउमा रहेकाले सुरक्षाको हिसाबले पनि संवेदनशील रहेकाले पाँचवटै पालिकाको बिच भागमा पर्ने गोडैता नगरपालिका ७ मा इलाका प्रशासन कार्यालय स्थापना गरिदिन गृहमन्त्रीसँग माग गरिएको छ । सर्वपक्षीय ध्यानाकर्षण पत्रमा सर्लाही क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, क्षेत्र नं. ४ (ख) का प्रदेशसभा सदस्य फकिरा महतो, गोडैता नगरपालिकाका कार्यवाहक मेयर अन्जना कुशवाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय र धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले हस्ताक्षर गरेका छन् ।
जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने यस क्षेत्रका स्थानीय अहिले प्रशासनिक सेवा लिन सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा आउन बाध्य छन् ।