logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

इलाका प्रशासन कार्यालयले भन्यो–अनलाइन फारम भर्दा बढी शुल्क लिए कारवाही हुन्छ


  • उज्यालो अभियान

सन्जु कर्ण/हरिवन, १५ भदौ – सर्लाहीको हरिवनस्थित इलाका प्रशासन कार्यालयले अनलाइन फारम भर्दा सेवाग्राहीसँग बढी शुल्क लिने व्यवसायीलाई अब कारवाही हुने चेतावनी दिएको छ ।

कार्यालयले आज सूचना जारी गर्दै कार्यालय छेउछाउमा अनलाइन फारम भर्ने पसलमा सेवाग्राहीसँग मनपरी रकम लिइएको गुनासो आएको भन्दै सचेत गराएको हो । कार्यालयका प्रमुख एवं शाखा अधिकृत राजकुमार थापाले हस्ताक्षर गरी जारी गरेका सूचनामा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्नका लागि १०० रुपियाँ र पासपोर्टका लागि २०० रुपियाँ मात्र लिन भनिएको छ ।

अनलाइन फारम भर्ने ठाउँमा बढी रकम लिएको गुनासो सेवाग्राहीले बारम्बार गर्न थालेपछि पहिलो चरणमा सूचना जारी गरेर सचेत गराइएको र यदि तोकिएको शुल्क कार्यान्वयन नभए कारवाही गरिने इलाका प्रशासन कार्यालयका प्रमुख थापाले उज्यालो अभियानसँग बताए ।

कार्यालयको आग्रहलाई बेवास्ता गरी मनपरी शुल्क लिए स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित ऐन अनुसार कारवाही हुने इलाका प्रशासन कार्यालय हरिवनले जनाएको छ । कार्यालयको हाताभित्र बिना अनुमति कुनै पनि लेखनदासलाई प्रवेश निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सर्लाहीमा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालय तथा मलङ्गवामा रहेको जिल्ला प्रशासन कार्यालय वरपर र जिल्लामा रहेका मालपोत, नापी, अदालतलगायत कार्यालयको बाहिर अनलाइन फारम भर्दा तथा लेखनदासबाट काम गराउँदा मनपरी शुल्क लिने गरेको गुनासो बारम्बार आउने गरेको छ । तर त्यसको अनुगमन गरी दोषीलाई कारवाही भने अहिलेसम्म हुन सकेको छैन् ।