नवलपुर, १४ भदौ – नेपाल विद्युत प्राधिकरणले सर्लाहीको नवलपुर ग्रिड सवस्टेशनमा आज ‘क्यापासिटर बैङ्क’ जडान गरेको छ ।
भोल्टेजलाई नियमित राख्न प्रयोग गर्ने क्यापासिटर बैङ्क नराख्दा विद्युत आपूर्तिमा समस्या पर्दै आइरहेको थियो । आज बिहान जिल्लाभर साँढे चार घण्टा विद्युत अवरुद्ध गरेर ३३ के.भी. लाइनमा १२.५ एम.भि.ए.र. क्षमताको क्यापासिटर बैङ्क जडान गरिएको हो ।
सर्लाहीमा नवलपुर ग्रिड सवस्टेशनबाट लालबन्दी, बरहथवा र मलङ्गवा वितरण केन्द्रमार्फत सम्पूर्ण जिल्लाभर विद्युत आपूर्ति हुने गरेको छ । विद्युत आपूर्ति नियमित गराउने र भोल्टेजको समस्या कम गर्ने उद्देश्यसहित क्यापासिटर बैङ्क जडान गरिएको नवलपुर ग्रिड सवस्टेशनका इन्चार्ज प्रवीण श्रेष्ठले उज्यालो अभियानसँग बताए ।
सर्लाहीमा यसअघि सदरमुकाम मलङ्गवास्थित मलङ्गवा वितरण केन्द्रमा छ महिनाअघि क्यापासिटर बैङ्क र नयाँ ट्रान्सफर्मर जडान गरिएको थियो ।