logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

३ नगरपालिकामा उपसचिव र ५ गाउँपालिकामा शाखा अधिकृत खटाइयो


  • उज्यालो अभियान

लालबन्दी, १३ भदौ – लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका सर्लाहीका आठ पालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहाँका तीन नगरपालिकामा उपसचिव र चार गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको हो । मन्त्रालयले एकसाथ १२२ जना उपसचिवको सरुवा गर्दा ईश्वरपुर नगरपालिकामा जिल्ला समन्वय समितिको कार्यालय दोलखाबाट उपसचिव रामप्रसाद पोखरेललाई पठाइएको छ ।

उपसचिवको अभावमा ईश्वरपुरमा आयूर्वेद शाखाका डा. पङ्कजकुमार साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

लेखा अधिकृत प्रतीत भण्डारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेको बागमती नगरपालिकामा रक्षा मन्त्रालयबाट उपसचिव इन्द्र गौतमलाई सरुवा गरेर पठाइएको छ ।

शाखा अधिकृत सुशीलकुमार साह निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको सीमावर्ती बलरा नगरपालिकामा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत उपसचिव धर्मानन्द जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको छ । जोशी केही समयअघि लालबन्दी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।

यस्तै जिल्ला समन्वय समिति सर्लाहीका समन्वय अधिकृत एवं उपसचिव कमलबहादुर कार्कीलाई महोत्तरीको बलवा नगरपालिकामा सरुवा गरिँदा कार्कीको ठाउँमा भने कसैलाई पठाइएको छैन् । लालबन्दी निवासी सर्लाहीका यसअघिका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपसचिव होमप्रसाद घिमिरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरबाट जलेश्वर नगरपालिका महोत्तरीमा सरुवा भएको छ ।

यसैगरी देशभरमा ९७ जना शाखा अधिकृतको एकसाथ सरुवा हुँदा सर्लाहीको चन्द्रनगर गाउँपालिकामा धनौजी गाउँपालिका धनुषाबाट हरिशङ्कर यादव, धनकौल गाउँपालिकामा मटिहानी नगरपालिका महोत्तरीबाट चन्द्रशेखर शर्मा, रामनगर गाउँपालिकामा शहीदनगर नगरपालिका धनुषाबाट उमेश महतो, ब्रह्मपुरी गाउँपालिकामा धनगढीमाई नगरपालिका सिराहाबाट धीरेन्द्रकुमार यादव र कौडेना गाउँपालिकामा बौधिमाई नगरपालिका रौतहटबाट उदयशङ्कर चौधरीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । यि पाँच गाउँपालिकामा अहिले प्राविधिक, स्वास्थ्यकर्मी र शिक्षा शाखाका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

मन्त्रालयले अब देशभरका कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहेको दावी गरेपनि सर्लाहीको हरिपुर नगरपालिका र विष्णु गाउँपालिकामा भने अझै निमित्त प्रमुख प्रशासकीय अधिकृत नै कार्यरत छन् । हरिपुर नगरपालिकामा शाखा अधिकृत विनय पौडेल र विष्णु गाउँपालिकामा स्वास्थ्य शाखाका सन्जिव सापकोटाले निमित्तको जिम्मेवारीमा काम गरिरहेका छन् ।

पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा र निमित्तको जिम्मेवारी तोक्दा व्यापक आर्थिक चलखेल हुने गरेको गुनासो सुन्ने गरिन्छ ।