लालबन्दी, १३ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको चुरेवर्ती क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायणखोला कामिटारका २० वर्षीय सन्ते ब्लोन गाँजासहित पक्राउ परेका हुन् । चुरेभेगबाट गाँजा ल्याइँदै गरिएको सूचना पाएपछि प्रहरी टोली परिचालन भएको थियो । त्यसक्रममा नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४२ प ४०५३ नम्वरको मोटरसाइकललाई खोक्न खोज्दा मोटरसाइकलमा सवार दुई युवक भाग्न खोजे ।
मोटरसाइकल र साथमा भएको झोला छाडेर खेतैखेत भागेका युवकमध्ये कामिटारका ब्लोनलाई पछ्याउँदै जाँदा पक्राउ गर्न सफल भएको र अर्का युवक फरार भएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । प्रहरीलाई देखेपछि युवकहरुले फालेको झोला भित्रबाट पाँचवटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको इन्स्पेक्टर जोहारीले बताए ।
ब्लोनलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ भने फरार रहेका मोटरसाइकलमा सवार अर्का व्यक्तिको खोजी जारी रहेको लालबन्दी प्रहरीले जनाएको छ ।