हरिपुर, १३ भदौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशका कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहेको घोषणा गरेपनि सर्लाहीका तीन पालिका अझै निमित्तकै भरमा रहेका छन् ।
मन्त्री न्यौपानेले हिजो १२२ उपसचिव र ९७ जना शाखा अधिकृतको एकसाथ सरुवा गर्दै देशभरका पालिकालाई निमित्तविहीन बनाइएको घोषणा गरेकी थिइन् । नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत, प्रमुख प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।
मन्त्रालयले सर्लाहीका लागि तीन जना उपसचिव र पाँच जना शाखा अधिकृत सरुवा गरेर पठाउँदा अझै तीन पालिका छुटेका हुन् । हरिपुर नगरपालिका, कविलासी नगरपालिका र विष्णु गाउँपालिका अझै निमित्तकै भरमा रहने भएका छन् ।
हरिपुर नगरपालिकामा गएको वर्ष माघदेखि नै शाखा अधिकृत विनय पौडेलले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।
कविलासी नगरपालिकामा आयूर्वेद शाखाका वैद्य निरीक्षक राजकिशोर महतोले निमित्त भएर काम गरेको लामो समय भइसकेको छ ।
सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका पनि वर्षौदेखि निमित्तकै भरमा चलिरहेको छ । विष्णुमा स्वास्थ्य शाखाका कर्मचारी सन्जिव सापकोटाले अघिल्लो कार्यकालका जनप्रतिनिधि हुँदा देखि नै निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दै आइरहेका छन् ।
मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका जिल्लाका अन्य आठ पालिकामा भने हिजो बल्ल प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । यहाँका तीन नगरपालिकामा उपसचिव र चार गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको हो ।
पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा र निमित्तको जिम्मेवारी तोक्दा व्यापक आर्थिक चलखेल हुने गरेको गुनासो सुन्ने गरिन्छ ।