हरिपूर्वा विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)
हरिपुर्वा, ११ भदौ – सर्लाहीको हरिपुर्वामा विद्युत सवस्टेशन निर्माण भएर सञ्चालनमा आएपछि पनि विद्युत अनियमित हुँदा सर्वसाधारण हैरान भएका छन् ।
हरिपुर्वा सवस्टेशनबाट जिल्लाको दक्षिण–पूर्वी भेगको हरिपूर्वा, पर्सा, चन्द्रनगर, ब्रह्मपुरी र ईश्वरपुर नगरपालिकाको वडा नं. १५ मा विद्युत प्रवाह भइरहेको छ । लामो प्रशारण लाइन भएर मलङ्गवादेखि ल्याइएको बिजुली बारम्बार कटौति हुने समस्याले आजित बनेका स्थानीय आफूहरुकै क्षेत्र हरिपुर्वामा सवस्टेशन बनेपछि विद्युत नियमित हुने आशमा बसेका थिए ।
हरिपुर्वा नगरपालिका–४, का दिनेश रायले गाउँमै सवस्टेशन बनेपछि पनि विद्युत प्रवाहमा सुधार हुन नसकेको गुनासो गरेका छन् । चर्को गर्मीमा घण्टौँ विद्युत कटौति हुने र भोल्टेजको समस्याले पङ्खा तथा अन्य विद्युतीय उपकरण सञ्चालन गर्न कठीन परिरहेको रायले गुनासो गर्नुभएको छ ।
हरिपुर्वा सवस्टेशनमा धनुषाको ढल्केबरबाट ल्याइएको ११ केभी बिजुली जोडिएको छ । सर्लाहीको अन्य भेगमा भने नवलपुरस्थित सवस्टेशनबाट ३३ केभी लाइन छाडिएको छ । लामो समय अलपत्र रहेको हरिपुर्वा सवस्टेशन गत वर्षदेखि मात्रै सञ्चालनमा आएको हो ।
नेपाल विद्युत प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले भने हरिपुर्वा सवस्टेशन क्षेत्रमा ११ केभी लाइन निर्माण कार्य भइरहेकाले बिजुली अनियमित हुन पुगेको दावी गरेको छ । मलङ्गवा वितरण केन्द्र प्रमुख उमेशकुमार यादवले विद्युत अनियमित हुने समस्या सुधार गर्नकै लागि ११ केभीको नयाँ लाइन निर्माण कार्य जारी रहेको जानकारी दिए ।