बरहथवा, ११ भदौ – गणेश चतुर्थी पर्वको अवसरमा आज सर्लाही सदरमुकाम मलङ्गवासहित विभिन्न ठाउँमा भव्य कलशयात्रा निकालिएको छ ।
मलङ्गवा, बरहथवा, बयलवासलगायत जिल्लाका दर्जनौँ स्थानमा गणेश पूजा समितिले बाजागाजासहित कलश यात्रा निकालेको हो । नगर परिक्रमा गर्दा कुनै विवाद उत्पन्न हुन नदिन प्रहरीले सुरक्षा पहरा प्रदान गरेको छ ।
कलशयात्रा सँगसँगै ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको सुरक्षा अधिकारीले बताएका छन् । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले शान्ति, सुरक्षा कायम राख्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार गणेश पूजाको मुर्ति विर्सजन नहुन्जेलसम्म प्रहरीले सुरक्षा सावधानी अपनाउने छ ।
सदरमुकाम मलङ्गवा बजारमा प्रायः प्रत्येक चाडपर्वमा निकालिने र्याली र मुर्ति विर्सजन गर्न लैजाँदा विवाद भइ सामाजिक सद्भावमा खलल पुग्न नदिन व्यापक मात्रामा प्रहरी परिचालन गर्ने गरिएको छ । गणेश पूजाको मुर्ति दुई दिन पूजा गरेपछि मात्रै विर्सजन गरिने स्थानीयले बताएका छन् ।
गणेश चुतर्थीका अवसरमा जिल्लाको विभिन्न स्थानमा आयोजित गणेश पूजा र कलश यात्रामा जिल्लाका सांसद, पालिका प्रमुख, राजनीतिज्ञसमेत सामेल हुने गरेका छन् ।
गणेश पूजास्थलमा भारी परिमाणमा लड्डु चढाउने परम्परा रहेको छ ।