मलंगवा, ०८ भदौ – सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयलाई राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका सेवाग्राहीको चाप थेग्न हम्मेहम्मे परेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलका अनुसार कार्यालयमा रहेका चारवटा स्टेशनबाट दैनिक ३५० भन्दा माथि सेवाग्राहीको राष्ट्रिय परचयपत्रका लागि विवरण भर्ने काम भइरहँदा पनि भिड घट्न सकेको छैन् । राष्ट्रिय परिचयपत्रकै लागि बिहान ८ बजेबाटै सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अहिले पालिकाहरुमा सामाजिक सुरक्षा भत्ताको नवीकरण कार्य चलिरहेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्वर अनिवार्य गरिएको छ ।
त्यसैले पनि थेग्नै नसक्ने गरी सेवाग्राहीको चाप बढेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले उज्यालो अभियानसँग बताए । अत्यधिक भिडभाडका कारण सेवाग्राही चर्को घाम र गर्मीमा घण्टौँ लाइनमा बस्न बाध्य छन् ।
कतिपय सेवाग्राही बिहान झिसमिसेमै सिडिओ कार्यालयको गेटमा आएर बस्ने गरेका छन् । नागरिकतामा फोटो धमिलो भएको, अक्षर प्रष्ट नरहेका जस्ता समस्या देखिए प्रतिलिपी नागरिकता बनाउनुपर्ने अवस्था हुने कर्मचारीले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा प्रतिलिपी नागरिकता शाखामा पनि उत्तिकै भिड देखिन्छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले केही पालिकाको दुई÷चारवटा वडासहित जिल्लाका २० पालिकामध्ये १६ वटा पालिकाका वासिन्दालाई सेवा प्रवाह गर्दै आइरहेको छ ।
इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश रायले वैदेशिक रोजगारमा जान, बैंक खाता खोल्न र सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्रमा चाप बढेको बताए । उनका अनुसार बरहथवाबाट दैनिक ७० जना भन्दा बढी सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको विवरण भराउने गरेका छन् ।
इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले राष्ट्रिय परिचयपत्रका लागि प्रायः भिडभाड नै भइरहने जानकारी दिए । उनका अुनसार हरिवनमा राष्ट्रिय परिचयपत्रका लागि दैनिक ८० जनाको हाराहारीमा सेवाग्राही आउने गरेका छन् ।
सेवाग्राहीलाई बेलुका अबेरसम्म काम गरेर पठाउने गरेको थापाले बताए ।