नवलपुर, ०५ भदौ – जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक रजोश घिमिरे साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा पुरस्कृत भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले इन्स्पेक्टर घिमिरेलाई साउन महिनाको ‘वेष्ट ट्राफिक पुलिस अफ द मन्थ’ प्रदान गरेको हो । इन्स्पेक्टर घिमिरेले आदेश निर्देशन बमोजिम इमान्दारपूर्वक ट्राफिक व्यवस्थापन गरिरहेको, ईश्वरपुर नगरपालिकासँग समन्वय गरी ट्राफिक प्रहरी पोष्ट फूलजोरको भवन निर्माण गर्न सफल भएको, नवलपुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको हाताभित्र लालबन्दी नगरपालिकासँग समन्वय गरी दुर्गा भगवतीको मन्दिर निर्माण गरेकोलगायत कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेकाले उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा पुरस्कृत गरिएको जनाइएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार शिलवालले कार्यालयको तर्फबाट इन्स्पेक्टर घिमिरेलाई अभिलेखमा जनिने गरी नगद १ हजार ३०० रुपियाँसहित पुरस्कृत गरेका हुन् ।
घिमिरेलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीलाई समेत सकारात्मक प्रभाव पर्न गइ कार्य सम्पादनमा अझ बढी प्रभावकारिता आउने विश्वास गरिएको छ ।