हरिपूर्वा विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, ०४ भदौ – सर्लाहीको सदरमुकाम मलंगवास्थित वितरण केन्द्रको विभिन्न क्षेत्रमा आज बिहानैदेखि लाइन काटिएको छ ।
११ केभी नयाँ लाइन निर्माणका लागि आज बुधबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली अवरुद्ध हुनेबारे कार्यालयले हिजै सूचना जारी गरेर जानकारी दिएको थियो । सो सूचना अनुसार ब्रम्हपुरी, भेल्ही, त्रिभुवननगर, पिपरा, नोकैल्वा, चन्द्रनगर, सखुवा, मलंगवाको टावर चोकलगायत क्षेत्रमा बिहान ७ बजेदेखि नै काटिएको बत्ती दिउँसो १ बजेपछि छाडिने मलंगवा वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेशकुमार यादवले जानकारी दिए ।
गर्मीका बेला बत्ती काटिँदा सर्वसाधारण भने प्रभावित बनेका छन् । यस्तै हरिपूर्वा सवस्टेशनमा ढल्केबरबाट ल्याइएको ३३ केभी लाइनमा समस्या देखा परेको छ ।
३३ केभी लाइन फल्र्ट भएकाले अहिले हरिपूर्वा नगरपालिका, पर्सा गाउँपालिका, ईश्वरपुर नगरपालिका १५ क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हरिपूर्वा सवस्टेशनले जनाएको छ । मर्मतका लागि प्राविधिक परिचालन भएका बताइएको छ ।
मलंगवा, हरिपूर्वा र गडहीयामा जति प्रयास गर्दा पनि बिजुली अनियमित भइरहने समस्याले स्थानीय हैरान छन् । मलंगवा वितरण केन्द्रको क्षेत्रमा ४० प्रतिसत चुहावट अर्थात् झण्डै आधा सेवाग्राहीले त बिजुली चोरेरै प्रयोग गर्ने गरेकाले समस्या रहेको वितरण केन्द्रले जनाएको छ ।