मलंगवा, ०४ भदौ – सर्लाही सदरमुकाम मलंगवामा हिजो १९ औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ ।
दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको सभा हलमा सूचनाको हकका सम्वन्धमा सुरक्षा अधिकारी, कार्यालय प्रमुख, सूचना अधिकारीहरु, नागरिक समाजका अगुवा र संचारकर्मीबिच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा नागरिक समाजका अगुवा तथा जिल्लाका संचारकर्मीले यहाँ सूचनाको हकको अवस्था दयनीय रहेको बताएका छन् ।
कुनै पनि सरकारी कार्यालय तथा निकायमा सूचना माग्न जाँदा विपक्षी झैँ ठान्ने गरिएको उनीहरुको गुनासो छ । कानूनी प्रावधानअनुसार आफै सार्वजनिक गर्नुपर्ने सूचनाधरी लुकाउने परिपाटी ब्याप्त रहेको सहभागी नागरिक समाजका अगुवा र संचारकर्मीले बताएका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले कार्यालय प्रमुख तथा कार्यालयहरुका सूचना अधिकारीको बैठकमा सूचनाको हकको कार्यान्वयन र सहज ढंगले सूचना प्रवाह गर्न निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
छलफलमा जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख एवं हुलाक अधिकृत डुरदेव बरालले सूचनाको हकका प्रावधानसहित जिल्लाका सरकारी कार्यालयबाट प्रदान हुने सूचनाको अवस्था, सूचना अधिकारीको व्यवस्थालगायतबारे प्रस्तुतकरण राखेका थिए ।