logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

असहाय दलित परिवारलाई आवास हस्तान्तरण


  • उज्यालो अभियान

जियाजोर, ०४ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोर दबकाली टोलमा असहाय एक दलित परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।

जनप्रतिनिधि, युवालगायतले आपसमा आर्थिक तथा निर्माण सामग्री सरसहयोग गरेर स्थानीय रामचन्द्र विश्वकर्माको परिवारलाई टायलको छानो हालेर दुई कोठे पक्की घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् । दुई लाख ४६ हजार ४०० रुपियाँ लागतमा घर निर्माण गरी विश्वकर्मा परिवारलाई हस्तान्तरण गरिएको स्थानीय उमेश थोकर लामाले बताए ।

मजदुरी गरेर परिवारको गुजारा धान्ने रामचन्द्र घर बनाउने मिस्त्रीको काम गर्नेक्रममा घरको छतबाट खसेर मेरुदण्ड भाँचिएपछि हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेका छन् । विश्वकर्मा परिवारको दयनिय अवस्था देखेर आवास निर्माण गरिदिएको मनकारी युवाले बताएका छन् ।

लालबन्दी र हरिवन नगरपालिकाका जनप्रतिनिधि, अगुवालगायतको उपस्थितिमा हिजो रामचन्द्रकी श्रीमती सविता विश्वकर्मालाई नवनिर्मित घरको साँचो हस्तान्तरण गरिएको छ । दलित परिवारको आवास निर्माणमा नगद तथा विभिन्न सरसामग्री सहयोग गर्ने व्यक्तिलाई सोही कार्यक्रममा सम्मानसमेत गरिएको छ ।

घर हस्तान्तरणकै अवसरमा लायन्स क्लब लालबन्दीले विश्वकर्मा परिवारलाई १० हजार रुपियाँ बराबरको खाद्य सामग्री प्रदान गरेको क्लबका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले बताए । लालबन्दी १२ र १३ तथा हरिवन २ का वडाध्यक्ष क्रमशः दुर्गाबहादुर आले, शिवकृष्ण वैद्य र अर्जुनकुमार योन्जनले आवश्यक परेको बेला विश्वकर्मा परिवारलाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लालबन्दी १२ का वडाध्यक्ष आलेले विश्वकर्मा परिवारको दयनीय अवस्था देखेर सबैले धेरथोर सहयोग गरी घर बनाइदिएको बताएका छन् ।

४० वर्षीय रामचन्द्र मेरुदण्ड भाँचिएर थलिएपछि आमा, श्रीमती, दुई छोरी र छोरालाई गुजारा टार्न समस्या पर्दै आइरहेको छ ।