हरिपुर, २७ साउन – एक सातादेखि निरन्तर वर्षा भइरहँदा सर्लाहीसहित मधेश प्रदेशका किसानले रोपेको धान बाली हरियो भएको छ ।
यहाँ साउन मध्यसम्म टन्टलापुर घाम लागेर खडेरी जाँदा धान रोपाइँ नै हुन सकेको थिएन । किसानले विद्युतीय मोटर र पप्पसेट चलाएर रोपेको धान खेतमा धाजा फाटेर बाली नै सुक्न थालेको थियो ।
साउन १५ पछि भने पर्याप्त वर्षा भएसँगै रोपोमा हरियो फिर्दा किसान खुसी देखिन्छन् । कविलासी नगरपालिका–८, अगर्वाका किसान खेन्हारी रायले निरन्तर पानी परिरहेकाले धान बाली राम्रोसँग हुर्किरहेको भन्दै खुसी व्यक्त गरेका छन् ।
धान बाली हरियो भएर गाँज हाल्न थालिसकेको ठाउँका किसानले धमाधम रासायनिक मल हाल्न थालेका छन् । यही समयमा किसानले पर्याप्त मात्रामा मल भने पाउन सकेका छैनन् । अहिले तराईको प्रत्येक फाँटमा धान बाली हरियो भएको दृश्य देखिन्छ । अब अधिकांश किसानले धान रोपाइँ गरेर सकेका छन् ।
पर्याप्त पानी परिरहेकाले अहिले कतैकतै धान रोपाइँ गरिरहेका किसानलाई पानीको अभाव भएको छैन् । गद्धर अर्थात् खाऊर लगाउने किसानले ढिलो गरी रोपाइँ गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्क अनुसार जिल्लामा ८० प्रतिसत खेतमा धान रोपाइँ भइसकेको छ ।
कार्यालयका प्रमुख कमलदेवप्रसाद कुशावाहाले केही क्षेत्रमा धान रोपाइँ जारी नै रहेको उज्यालो अभियानसँग बताए । कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा ४४ हजार १७५ हेक्टरमा धान खेती हुने गरेको छ ।