logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सिडियो कार्यालय मलंगवाको सेवा आज बन्द रहने


  • उज्यालो अभियान

मलंगवा, २५ साउन – जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा आज एक दिन बन्द रहने भएको छ ।

कार्यालयको भर्खरै निर्माण सम्पन्न भएको नयाँ भवनमा कागजात र सरसामग्री सारेर व्यवस्थापन गर्नुपर्ने भएकाले आज एक दिनका लागि कार्यालयको सेवा बन्द रहने भएको हो । आज आइतबार सेवा बन्द रहनेबारे कार्यालयले दुई दिनअघि नै सूचना जारी गरेर जानकारी गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भवन निर्माणको काम पूरा भएकाले अब भोलीबाट नयाँ भवनबाटै सबै सेवा प्रदान गरिने उज्यालो अभियानसँग बताए । आफ्नो भवन निर्माण भइरहँदा पूर्वाधार विकास कार्यालयको भवनबाट जिल्ला प्रशासन कार्यालय सञ्चालन गरिएको थियो ।

नवनिर्मित भवनबाट केही समयअघि देखि नै राष्ट्रिय परिचय पत्रको काम भने हुँदै आएको थियो । अब भवन निर्माणको सम्पूर्ण काम सक्किसकेकाले भोलीदेखि पूर्वाधार विकास कार्यालयको भवन छाडेर सबै सेवा आफ्नै नयाँ भवनबाट प्रवाह गरिने सिडिओ कार्यालयले जनाएको छ ।

नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न गएको शुक्रबारदेखि नै कागजात र सरसामग्री सार्ने काम जारी रहेको छ । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालयको व्यवस्थित किसिमको ३ तले नयाँ भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।

भोली सेवा प्रवाह गर्न थालिने जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको औपचारिक उद्घाटन भदौ पहिलो साता गर्ने तयारी रहेको सिडिओ श्रेष्ठले बताए । भवनको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने गरी तयारी भइरहेको हो ।