लालबन्दी, २५ साउन – सर्लाहीको अधिकांश भू–भागमा रातिदेखि नै झरी परिरहेको छ ।
विशेष गरी उत्तरी भेगमा पानी परिरहेको हो । दक्षिणी भेगका केही ठाउँमा भने मौसम धुम्मिएको तर पानी नपरेको स्थानीयले जानकारी दिएका छन् ।
सर्लाहीको उत्तरी चुरेपहाडका गाउँहरुमा रातिदेखि नै ठूलो पानी परेको बताइएको छ । सर्लाहीमा एक सातादेखि निरन्तर सानो ठूलो पानी परिरहेको छ । पानीले रोपिसकेको धान बालीलाई र बाँझो खेत रोप्न पनि ठूलो मद्धत पुगेको छ ।
गर्मी उल्लेख्य घट्दा मानिसले शित्तलताको महशुस गरिरहेका छन् ।
यसैबिच, मधेश, बाग्मती, गण्डकीको केही ठाउँमा गएराति ठूलो पानी परेको छ । गएराति सिन्धुपाल्चोक, धनुषा र कास्कीमा सबैभन्दा धेरै वर्षा मापन भएको हो ।
धनुषाको तुलसी वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा १०५.६ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै सर्लाही, सिन्धुपाल्चोक, कास्कीमा पनि ठूलो पानी परेको छ ।
गएराति कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भागका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज देशभर मौसम बदली रहनेछ ।