logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लालबन्दीमा पनि मनाइयो गाईजात्रा, बिदा दिन नगरपालिकासँग माग


  • उज्यालो अभियान

लालबन्दी, २५ साउन – सर्लाहीको लालबन्दी नगरपालिकाभित्र बसोवास गर्ने नेवार समुदायले पनि आज गाईजात्रा पर्व मनाएका छन् ।

भिमेश्वर गुठीको आयोजनामा लालबन्दीमा ‘नेवाः जात होइन, संस्कृति, मानव सभ्यता हो’ भन्ने नारासहित गाइजात्रा मनाइएको हो । यहाँका नेवार समुदाय आफ्नो भेषभुषामा सजिएर ¥यालीसहित लालबन्दी नगरपालिकाको कार्यालयमा पुगेर गाईजात्राको अवसरमा नगरभित्र सार्वजनिक बिदा दिन माग समेत गरेका छन् ।

एक वर्षभित्र दिवंगत भएका लालबन्दीका गंगादेवी श्रेष्ठ, कमलकुमारी श्रेष्ठ र श्रेया श्रेष्ठको स्मरण गर्दै गाईलाई समेत श्रृङ्गारेर नगर परिक्रमा गराइएको छ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाण्डौ उपत्यकामा विशेष रूपमा मनाइन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी निर्देशन दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेशअनुसार हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ ।

त्यस्तै गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । हाँस्य कलाकारले विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।