logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लखन्देही खोलाले बगाएर वृद्धको मृत्यु


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बरहथवा, २५ साउन – सर्लाहीमा आज लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।

खोलाले बगाएर कविलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो । जमिरलाई आज बिहान लखन्देही खोला पारी खेतमा काम गर्न जाँदा बरहथवा नगरपालिका–१६ बाट बाढीले बगाएको थियो ।

परिवारले उनी बेपत्ता भएको जानकारी दिएपछि खोजी गर्नेक्रममा आज दिउँसो बरहथवा नगरपालिका–१७, स्थित बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमामा पर्ने खोला किनारमा जमिरलाई मृत फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको छ ।

गएराति सर्लाहीको चुरेभेगमा भारी वर्षा हुँदा लखन्देहीसहितका अन्य खोलामा आज बिहानैदेखि ठुलो बाढी आएको थियो ।

सर्लाहीमा गएसाँझ पनि बलरा नगरपालिकामा पुरानो मनुष्मारा खोलामा डुबेर एक जनाको मृत्यु भएको थियो ।

सीमावर्ती बलरा नगरपालिका–६, मिर्जापुरमा घाँस काटेर घर फर्किदै गर्दा खोला तर्नेक्रममा चिप्लिएर जलकुम्भीमा टाउको फस्दा स्थानीय बिकाउ बैठाकी छोरी १६ वर्षीया रंगिला बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।