प्रतिकात्मक तस्बीर ।
हरिवन, २५ साउन – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन् । सुखेपोखरी क्याम्पस नजिकै प्रदेश ०२–०३–०१९ प ५४०८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार हरिवन १० कै १४ वर्षीया दिपिका बुढाथोकीको मृत्यु भएको हो ।
बालिकालाई हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय हरिवनले जनायो । साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा चालक बागमती नगरपालिका–१, का १६ वर्षीय सविन भुजेलसमेत गम्भीर घाइते भएका छन् । टाउको र आँखामा चोट लागेर घाइते भुजेलको प्रहरी निगरानीमा वीरगञ्जमा उपचार भइरहेको हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले उज्यालो अभियानसँग बताए ।
प्रत्यक्षदर्शीका अनुसार १६ वर्षीय युवकले तीव्र गतिमा चलाएको टु–ट्वान्टी मोटरसाइकल बालिका चढेको साइकलमा ठोक्किँदा साइकल र बालिकालाई निकै परसम्म उछिट्याएको थियो ।