जुटपानी, २४ साउन – सर्लाही सदरमुकाम मलंगवा निवासी नारायणप्रसाद जोशीले आज लालबन्दी नगरपालिका २ जुटपाटीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका बुवाआमालाई कपडा प्रदान गरेका छन् ।
आफू नै वृद्ध भइसकेका जोशीले आज बिहान आश्रममा आएर आश्रमका बुबाहरुलाई भेस्ट र आमाहरुलाई कुर्था सुरुवाल प्रदान गरेका हुन् । आश्रममा बेलाबेलामा आएर यसैगरी सहयोग गर्ने जोशीले यो पटक लामो समयदेखिको सामाजिक सुरक्षा भत्ता जम्मा पारेर आश्रमका सबै बुवा आमालाई सहयोग गरेर फर्किएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिइन् ।

समाजसेवी जोशी नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको पूर्व सभापति समेत हुन् । यस्तै आज नै रक्षाबन्धनको दिन पारेर हेटौंडा निवासी वसन्त अधिकारीले आश्रममा १५ थान कुर्सी र एउटा घन्टी सहयोग गरेका अध्यक्ष कोइरालाले बताइन् ।