बयलवास, २४ साउन – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–४, बाँके जंगलमा गएसाँझ भएको बस दुर्घटनाका अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् ।
७ जना घाइतेको भने लालबन्दी, बर्दीवास, जनकपुरलगायत स्थानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले अहिले बिहान उज्यालो अभियानसँग बताएक छन् । जोशीका अनुसार १२ जना घाइते भने उपचारपश्चात राति नै डिस्चार्ज भइसकेका हुन् । अझै उपचार गराइरहेका घाइतेहरुको अवस्था पनि सामान्य नै रहेको इन्स्पेक्टर जोशीले बताए ।
गएसाँझ साँढे ५ बजेतिर ठूलो पानी परिरहेको बेला बाँके जंगलस्थित भत्किएको लच्का नजिकै जनकपुरबाट मलंगवाका लागि छुटेको ग १ ख ९४९४ नम्वरको यात्रुबाहक बस अनियन्त्रित भएर सडकमा एक बल्ड्याङ पल्टिएको थियो । पानी परिरहेकै बेला बस पल्टिएपछि सडकमा हिँडेका अन्य यात्रु र प्रहरी भएर घाइतेहरुको उद्धार गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार बसले अर्को गाडीलाई साइड दिनेक्रममा सडक बढाउनका लागि खनिएको भागतर्फ मोड्दा सडक नै भासिएर पल्टिएको हो ।
दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ । चालक फरार छन् ।
बस धनी र बस समितिका मानिस सम्पर्कमै रहेकाले बस घटनास्थलबाट उठाउने प्रयास भइरहेको इन्स्पेक्टर जोशीले बताए ।