मलंगवा, २४ साउन – जिल्ला प्रशासन कार्यालय सर्लाहीको नयाँ भवन तयार भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भवन निर्माणको काम पूरा भएको उज्यालो अभियानसँग बताए । सिडिओ श्रेष्ठका अनुसार पर्सी सोमबारदेखि कार्यालयको सम्पूर्ण सेवा नवनिर्मित भवनबाटै सुरु गर्ने तयारी छ ।
आफ्नो भवन निर्माण भइरहँदा पूर्वाधार विकास कार्यालयको भवनबाट जिल्ला प्रशासन कार्यालय सञ्चालन गरिएको थियो । नवनिर्मित भवनबाट केही समयअघि देखि नै राष्ट्रिय परिचय पत्रको काम भने हुँदै आएको थियो ।
अब भवन निर्माणको सम्पूर्ण काम सक्किसकेकाले पर्सीदेखि पूर्वाधार विकास कार्यालयको भवन छाडेर सबै सेवा आफ्नै नयाँ भवनबाट प्रवाह गरिने सिडिओ कार्यालयले जनाएको छ । नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न हिजोदेखि नै कागजात र सरसामग्री सार्ने काम जारी रहेको छ ।
केही सरसामग्री सार्न र व्यवस्थापनको काम बाँकी रहेकाले भोली आइतबार एक दिनका लागि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा ठप्प रहने कार्यालयले हिजो नै सूचना निकालेर जानकारी गराइसकेको छ । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालयको व्यवस्थित किसिमको ३ तले नयाँ भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।
पर्सीदेखि सेवा प्रवाह गर्न थालिने जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको औपचारिक उद्घाटन भदौ पहिलो साता गर्ने तयारी रहेको सिडिओ श्रेष्ठले बताए । भवनको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने गरी तयारी भइरहेको हो ।