प्रतिकात्मक तस्बीर ।
बलरा, २४ साउन – सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरमा आज साँझ खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ ।
सीमावर्ती क्षेत्रस्थित मिर्जापुरका बिकाउ बैठाकी छोरी १६ वर्षीया रङ्गिला बैठाको पुरानो मनुष्मारा खोलामा डुबेर मृत्यु भएको हो । शनिबार साँझ घाँस काटेर घर फर्किदै गर्दा खोला तर्नेक्रममा चिप्लिएर जलकुम्भीमा टाउको फस्दा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि अहिले राति प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिएका छन् ।