फूलजोर, २३ साउन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार साँझ बस पल्टँदा १७ यात्रु घाइते भएका छन् ।
प्रदेश राजधानी जनकपुरबाट सर्लाही सदरमुकाम मलङ्गवाका लागि छुटेको ग १ ख ९४९४ नम्वरको बस बाँके जङ्गलमा भत्किएको लच्का नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । १६ जना घाइतेको लालबन्दीस्थित मोडेल अस्पताल र एक जनाको नवलपुरमा उपचार चलिरहेको इन्स्पेक्टर घिमिरेले उज्यालो अभियानसँग बताए ।
घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए । शुक्रबार साँझपख मुसलधारे वर्षा भइरहेको बेला बस अनियन्त्रित भएर पल्टिएको थियो ।
घाइतेलाई तत्कालै पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए । बस सडकबाट एक बल्ड्याङ मात्रै पल्टिएकाले ठुलो क्षति टरेको लालबन्दीका इन्स्पेक्टर जोहारीले उज्यालो अभियानसँग बताएका छन् ।
पल्टिएको बस घटनास्थलमै रहेको छ ।