जब्दी, २३ साउन – सर्लाहीको लालबन्दी नगरपालिका ३ जब्दीमा नवनिर्मित थारु कल्याणकारी सभा जिल्ला कार्य समितिको भवन आज उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सभाकी सदस्य उर्मिला देवि सिंह थारुले भवनको उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारको ४८ लाख र जनश्रमदान ३ लाखबाट भवन निर्माण गरिएको थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीका सभापति सूर्यनारायण चौधरीले जानकारी दिए ।
चौधरीकै अध्यक्षतामा आयोजित भवनको उद्घाटन कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, लालबन्दीकी नगर उपप्रमुख कल्पनामाया पाख्रिन, ईश्वरपुरकी नगर उपप्रमुख रन्जितादेवी चौधरी, थारु कल्याणकारी सभा जिल्ला कार्य समितिका पूर्व केन्द्रीय सदस्य योगनारायण चौधरी, पूर्व केन्द्रीय महामन्त्री अमिरी चौधरीलगायतको आतिथ्यता रहेको थियो ।