लालबन्दी, २१ साउन – सर्लाहीसहित तराई मधेश क्षेत्रमा पानी पर्न रोकिएको छ ।
यहाँ गएको शनिबार रातिदेखि हिजो बिहानसम्म मुसलधारे वर्षा भएको थियो । हिजो मध्यान्हबाट भने मौसममा सुधाएर आएर लगातारको वर्षा रोकिएको हो । यो पटक सर्लाहीको चुरेभेग र पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्याप्त वर्षा भयो ।
दक्षिणी भेगमा भने अझै प्रशस्त पुग्ने गरी पानी पर्नै नसकेको किसानले गुनासो गरेका छन् । विशेष गरी सीमावर्ती क्षेत्रमा पर्ने विष्णु गाउँपालिका, गोडैता नगरपालिका, बलरा नगरपालिका, ब्रम्हपुरी गाउँपालिका, पर्सा गाउँपालिकालगायत क्षेत्रमा यो पटक पनि तुलनात्मकरुपमा कम पानी परेको बताइएको छ ।
उत्तरी भेगमा खेतका गरा भरी टिलपिल हुने गरी पानी जमे पनि दक्षिणी बेल्टमा कम पानी परेकाले आकाशकै पानीको भरमा रोपाइँ गर्न समस्या परेको किसानले गुनासो गरेका छन् । सोमबार राति सामान्य रुपमा भएको वर्षापछि सधियारको उखु बारीमा जमेको पानी सङ्कलन गरेर हतारमा धान रोपाइँ गरेको कविलासी नगरपालिका–८, अगर्वाका किसान खिन्हारी रायले बताए ।
सीमावर्ती क्षेत्रका केही किसानले सामान्य रुपमा भिजेको खेतमा पानी नजम्दै कोदो जस्तै गरी धान रोपाइँ गरेका छन् । अन्य क्षेत्रमा ठूलो पानी परेपनि आफूहरुको ठाउँमा सामान्य मात्रै वर्षा भएकाले ब्याड छिप्पिएर गएको हुँदा किसानले जसोतसो रोपाइँ गरिरहेका गोडैता नगरपालिका–६, बगदहका किसान नरेशकुमार सिंहले जानकारी दिए ।
तीन दिनको वर्षाले यहाँ रोपाइँको प्रतिसत भने बढेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीकी सूचना अधिकारी सीमा कार्कीले पानी परेपछि अधिकांश फाँटमा बाँकी रहेको खेतमा धान रोपाइँ भइरहेको र पालिकाको कृषि शाखाबाट विवरण लिने काम भइरहेको जानकारी दिईन् ।
अहिले परेको पानीले रोपिसकेको धान, उखुलगायत बालीलाई फाइदा पुग्दा किसान खुसी देखिन्छन् ।