नाढीमन, २१ साउन – सर्लाहीको चन्द्रनगरमा आज मिथिला चित्रकला प्रदर्शनी गरिएको छ ।
चन्द्रनगर गाउँपालिका र नेपाल एकीकृत विकास समाज लालबन्दीको संयुक्त आयोजना तथा द एशिया फाउण्डेसन नेपालको आर्थिक सहयोगमा चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा मिथिला चित्रकला प्रदर्शनी गरिएको हो । नेपाल एकीकृत विकास समाज लालबन्दीले आयोजना गरेको १४ दिने मिथिला चित्रकला सम्वन्धी तालिममा सहभागी भएका महिलाले मिथिलाको सँस्कृतिसँग जोडिएको विभिन्न चित्रकला बनाएर प्रदर्शनी गरेर देखाएका हुन् ।
चन्द्रनगर गाउँपालिका–२, बबरगन्जकी अनारकली सिंहले आफ्नो संस्कार र सँस्कृतिसँग जोडिएको विषयमा चित्रकला बनाउन सिक्दा अत्यन्त खुसी लागेको उज्यालो अभियानसँग बताईन । चन्द्रनगर गाउँपालिकाभित्रका १५ जना महिलालाई मुख्य प्रशिक्षक कामिनीकुमारी साहले मिथिला चित्रकला बनाउन सिकाएकी हुन् ।

दुई हप्तासम्म चलेको चित्रकला सम्वन्धी तालिममा सहभागी महिलालाई आयआर्जनमा समेत जोड्ने उद्देश्य रहेको नेपाल एकीकृत विकास समाज लालबन्दीका कार्यकारी निर्देशक दिवाकर झाले जानकारी दिए । महिलाहरुले मिथिला क्षेत्रको संस्कार झल्कनेसहित महिलामाथि हुने घरेलु हिंसा र अपमान, बाल विवाह, लैङ्गिक हिंसा र कानूनी उपचारलगायत विषय समेटिएको चित्रकला बनाएर प्रदर्शनी गरेका छन् ।
प्रदर्शनीको अवलोकन गर्दै हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालले ग्रामीण भेगका गृहणी महिलाले यति राम्रा चित्र कोरेर प्रदर्शनीमा राखेको प्रति खुसी व्यक्त गरे । उनले महिलालाई आगामी दिनमा पनि यो सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले घुम्टोभित्र रहने मधेशका महिलाले पनि अवसर पाउँदा चित्रकलामार्फत आफूभित्रको प्रतिभा प्रस्फुटन गर्न पाएको बताईन् । चित्रकलाकै माध्यमबाट महिलालाई अघि बढ्न र आयआर्जन गर्न टेवा पुग्न सक्ने उनको भनाइ छ ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले दुई साताको तालिममै चित्रकला बनाउन अब्बल भएर निस्किएका महिलालाई आगामी दिनमा अझ अगाडि बढाउन र व्यवसायसँग जोड्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
चित्रकला सम्वन्धी तालिममा सहभागी महिलालाई आज नै प्रमाण–पत्र समेत वितरण गरिएको छ ।