logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा तीन दिनदेखि लगातार वर्षा, जताततै जलमग्न


  • उज्यालो अभियान

हरिवन, २० साउन – सर्लाहीमा तीन दिनदेखि लगातार पानी परिरहेको छ । यहाँ राति झन बढी पानी परेको छ ।

गएको शनिबार रातिदेखि नै वर्षा भइरहेको हो । लामो खडेरीपछि पर्याप्त वर्षा हुँदा किसान खुसी रहेका छन् । वर्षा नभएर धान रोप्न नपाएका र रोपेको धान पनि सुकेर गएको समयमा साउन तेस्रो सातामा आएर पर्याप्त वर्षा हुँदा किसानलाई ठूलो राहत मिलेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए । उनका अनुसार ७० प्रतिसत भन्दा बढी धान रोपाइँ भइसकेको सर्लाहीमा अहिले पर्याप्त वर्षा भएपछि बाँकी खेतमा पनि फटाफट रोपाइँ भइरहेको छ ।

तीन दिनदेखि लगातार पानी परिरहे पनि कहीँकतै क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले वर्षाबाट क्षति भएको भनी कहिँकतैबाट कुनै जानकारी नआएको बताए । तीन दिनअघिसम्म सुक्खा रहेका कालिन्जोर, फूलजोर, लखन्देही, बाँके, चापिनीलगायतका खोलाले अहिलेसम्म कटान गरेका छैनन् ।

सङ्घीय राजधानी काठमाडौंबाट मकवानपुर, सिन्धुली हुँदै बगेर आउने बागमती नदीले पनि अहिलेसम्म कतै कटान तथा डुबानको समस्या नदेखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । लगातार तीन दिन पानी पर्दा जताततै जलमग्न बनेको स्थानीयले बताएका छन् ।

विशेष गरी ग्रामीण भेगका कच्ची सडक जलमग्न बनेका छन् । निरन्तर वर्षा भइरहँदा बाढी आएकाले जिल्लाको चुरेवर्ती क्षेत्रमा खोलाको बाटो भएर आवातजावत गर्नुपर्ने क्षेत्रमा भने आवागमन ठप्प भएको स्थानीयले जानकारी दिएका छन् ।