logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जब्दीतर्फको सडकमा खाल्डो परेपछि फूलजोर पुलमा फेरि समस्या


  • उज्यालो अभियान

लालबन्दी, २० साउन – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुर र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोला पुलमा फेरि समस्या आएको छ ।

गएरातिको भारी वर्षापछि पुलको जब्दीतर्फको भागमा पहुँच सडक (एपरोज रोड) बगाएपछि समस्या भएको हो । सडकमा ठूलो खाल्डो परेर गिट्टी, बालुवा बगाएपछि आज बिहानबाट चार पाङ्ग्रे सवारी साधन वारवार गर्न सकेका छैनन् ।

साइकल, मोटरसाइकल र टेम्पु भने जोखिम मोलेरै वारपार गरिरहेका छन् । जब्दीको यो पुल रामपुरतर्फको भागमा यसैगरी भ्वाङ परेपछि महिनौँसम्म पुलबाट सवारी साधन आउजाउ बन्द गरिएको थियो । रामपुरतर्फको भागमा भर्खरै जाली भरेर भ्वाङ टाल्ने काम गरी सवारी साधन आउजाउ गर्ने व्यवस्था मिलाइएकोमा वर्षाले जब्दीतर्फको भागमा क्षति गरेपछि समस्या भएको लालबन्दी ४ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।

फूलजोर पुलको निर्माण कार्य पूरा भइ सके पनि पहुँच सडक भने कालोपत्रे हुन सकेको छैन् । सडक डिभिजन चन्द्रनिगाहपुरले पहुँच सडक कालोपत्रे गर्न ठेक्का लगाए पनि निर्माण व्यवसायीले मनोमानी गरी कालोपत्रेमा बेवास्ता गर्दै आइरहेका छन् ।

वडाध्यक्ष चौधरीका अनुसार सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमारलाल कर्णलाई जानकारी गराएपछि निर्माण व्यवसायी आएर भोलीदेखि नै सडकको खाल्डो पुरेर मर्मतको काम गर्ने प्रतिवद्धता जनाएर गएका छन् । ठेकेदारले यसअघि पनि बारम्बार यसैगरी झुक्याउने काम गरेकाले भोलीबाट नै काम हुनेमा शङ्का रहेको वडाध्यक्ष चौधरीको भनाइ छ ।

जब्दीमा पक्की पुल बने पनि पुलसँग जोडिएको पहुँच सडक निर्माण नहुँदा दुःख पाएको सर्वसाधारणले गुनासो गरेका छन् ।