कविलासी, १८ साउन – सर्लाहीमा सशस्त्र प्रहरी र विद्यालयलाई वायोस्याण्ड फिल्टर प्रदान गरिएको छ ।
हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालको सहयोगमा स्थानीय समाज विकास केन्द्रले समन्वय गरी कविलासी नगरपालिकास्थित सशस्त्र प्रहरी बलको १० नं. गण अगर्बा र मलङ्गवा नगरपालिका–६, खुटौनामा रहेको जनता माध्यमिक विद्यालयलाई वायोस्याण्ड फिल्टर प्रदान गरेको हो । सशस्त्र प्रहरी बल र विद्यालयलाई वायोस्याण्ड फिल्टरसहित खानेपानीको ट्याङकी र धारा जडान गरेर हस्तान्तरण गरिएको स्थानीय समाज विकास केन्द्रका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको गणलाई मधेश प्रदेश सभा सदस्य विमला अन्सारी, कविलासी नगरपालिकाका उपप्रमुख पुनम कर्ण, पूर्व राज्यमन्त्री रिजवान अन्सारी, संस्थाका संयोजक जीव पोखरेललगायत भएर सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दलाई वायोस्याण्ड फिल्टर प्रदान गरिएको हो । सशस्त्र प्रहरी बललाई सबा दुई लाख रुपियाँ बराबरको वायोस्याण्ड फिल्टर प्रदान गरिएको संस्थाका सल्लाहकार थापाले बताए ।
खुटौनाको विद्यालयलाई पनि सोही लागतमा वायोस्याण्ड फिल्टर जडान गरेर हस्तान्तरण गरिएको छ । हेल्पिङ ह्यान्डले सशस्त्र प्रहरी र विद्यालयलाई डष्टबिन समेत प्रदान गरेको छ ।
यस्तै विद्यालयमा आर्थिक अवस्था कमजोर रहेका १० जना छात्र र १० जना छात्रालाई स्वास्थ्य सामग्री (हाइजिन किट) प्रदान गरिएको छ ।