नाढीमन, १४ साउन – सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामदमा आज दिउँसो सय वर्ष पुरानो घर भत्किएर किच्दा एक बालकको मृत्यु भएको छ ।
मान्छे बस्न छाडेको २० वर्ष भइसकेको नवीन सिंहको घर भत्किँदा कामद गाउँको गौतम माझीका छोरा छ वर्षीय अरुण माझीको मृत्यु भएको हो । भग्नावशेष अवस्थामा पुगिसकेको घरमा खेलिरहेका माझी अचानक घर भत्किँदा भित्रै च्यापिएका स्थानीयले बताएका छन् । सशस्त्र द्वन्द्वको समयमा नवीन सिंहको परिवारले २०६२ सालतिर घर छाडेर काठमाडौं गएर बसेका छन् ।
सिंहको परिवारले छाडेको घरमा गाउँका बालबालिका भेला भएर खेल्ने गरेका थिए । बालबालिका खेलिरहेकै बेला माटो र इँटा जोडेर बनाइएको घर भत्किएको मृतक अरुणका नातेदार एवं स्थानीय ऋतुराज ऋषी (मुसहर) ले उज्यालो अभियानसँग बताए । भत्किएको घरभित्र अन्य बालबालिका पनि पुरिएको आशङ्का नेपाल प्रहरी र सशस्त्र प्रहरी भएर डोजरको सहारामा इँटा पन्छाउने काम गरेका थिए ।
भत्किएको संरचना हटाउँदा अरु केही नदेखिएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए । उनका अनुसार मृतक बालकाको शव पोष्टमार्टमका लागि भर्खरै प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।