धनकौल, १४ साउन – सर्लाहीको धनकौल गाउँपालिकाले मालपोत कर, व्यक्तिगत घटना दर्ता बिलम्ब दस्तुर र प्रतिलिपी दस्तुर निःशुल्क गरेको छ ।
गाउँ कार्यपालिका बैठकले खडेरी प्रभावित किसानलाई राहत मिल्ने भन्दै तीन प्रकारको दस्तुर निःशुल्क गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष रामआश्रय साहले सिँचाईका लागि डिप ट्युबेल बोर्डिङ जडान कार्यलाई अघिल्लो आर्थिक वर्षमा झैँ यो वर्ष पनि निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।
मधेशलाई सङ्घीय तथा प्रदेश सरकारले सङ्कटग्रस्त घोषणा गरिसकेको अवस्थामा पालिकाको तर्फबाट प्रभावित किसानलाई राहत मिल्ने गरी आर्थिक वर्ष २०८२/८३ मा तीन प्रकारका दस्तुर छुट दिने र बोर्डिङ गाड्ने कार्यलाई प्राथमिकतामा राख्ने कार्यपालिका बैठकबाट निर्णय गरिएको गाउँपालिका अध्यक्ष साहले बताए ।