चिताइन, १४ साउन – सर्लाहीको हरिपुर नगरपालिका ७ चिताइनमा आजबाट हरिपुर नगरपालिका माध्यमिक विद्यालय स्तरीय किशोरकिशोरीका लागि भलिबल प्रतियोगिता कार्यक्रम सुरु भएको छ ।
बाल बिवाह, कम उमेरमा हुने बिवाह र जवरजस्ती हुने बिवाह अन्त्यका लागि किशोरकिशोरीका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा हरिपुर नगरभित्रका ६ वटा माविबाट किशोरको एउटा र किशोरीको एउटा समूह सहभागी भएको छ ।
भोलीसम्म चल्ने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने लक्ष्मीनाथ युवा क्लबका चेतनारायण धामीले बताए । उक्त क्लबले नगरपालिकासँग समन्वय तथा सेभ द चिडे«न र ग्रामीण नारी उत्थान संघको सहयोगमा भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको हरिपुर नगरपालिका ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, हरिपुर ६ का वडाध्यक्ष प्रेमहरि श्रेष्ठ, ग्रामीण नारी उत्थान संघका सचिव सूर्य चालिसेलगायत भएर उद्घाटन गरेका हुन् ।

भलिबल प्रतियोगिता आयोजना स्थलमा २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने भन्ने ब्यानरबनाएर सहभागी किशोरकिशोरीबाट सामूहिक हस्ताक्षर संकलन गर्ने काम पनि गरिएको छ ।
भलिबल खेलमार्फत बालविवाह सम्वन्धी सचेतना जगाउने र २० वर्ष पुगेपछि मात्रै विवाह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य रहेको ग्रामीण नारी उत्थान संघले संचालन गरिरहेको सीइएफएम परियोजनाकी संयोजक सिर्जना बस्नेतले बताएकी छन् ।
