logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीको मौसम बिहानैदेखि धुम्म, पानी पर्खदै किसान


  • उज्यालो अभियान

हरिवन, १२ साउन – सर्लाहीको मौसम आज पनि बदली भएर धुम्मिएको छ ।

यहाँ पानी पर्ला जस्तो भई मौसम धुम्मिएको हो । यसअघि हिजो दिउँसो जिल्लाको उत्तर–पश्चिम चुरेवर्ती केही ठाउँमा एकझर राम्रोसँग वर्षा भएको छ ।

चुरेवर्ती क्षेत्रको जियाजोर, अत्रौली, ढुंग्रेखोला, बागमतीलगायत क्षेत्रमा राम्रोसँग पानी परेको स्थानीयले जानकारी दिएका छन् । परवानीपुर, कालिन्जोरलगायत क्षेत्रमा भने स्यार्र केहीबेर पानी छिट्याएको छ ।

यस्तै दक्षिणी भेगमा बरहथवा, गैरलगायत क्षेत्रमा पनि हिजो दिउँसो सामान्य वर्षा भएको हाम्रा संवाददाताले जनाएका छन् । जिल्लाको अन्य ठाउँमा भने हिजो दिनभर पानी पर्ला जस्तो भई मौसम धुम्मिए पनि वर्षा हुन सकेन् । आज पनि मौसम हिजोको झैँ भइरहेको हो ।

मौसम बद्ली हुँदा मात्रै पनि हिजो देखि यहाँ गर्मी केही कम भएको महशुस स्थानीयले गरेका छन् । पर्याप्त पानी पर्न नसक्दा सर्लाहीसहित मधेश प्रदेशमा खानेपानीको अभावसँगै धान रोपाइँ प्रभावित बनेको छ । आकाशमा पटकपटक बादल देखिए पनि पानी भने पर्न सकिरहेको छैन् ।

यसैबिच, केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय भएको छ । गएरातिदेखि देशभर मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, गोरखा, स्याङ्जा, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि राति हल्का पानी परेको छ ।

आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

आज राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।