logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पानी परेन, बिहानैदेखि हावा चल्दै


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १० असार – सर्लाहीको मौसम आज सामान्य बदली भएर बिहानैदेखि हावा चलिरहेको छ ।

यहाँ हावा चल्ने, चर्को घाम लाग्ने र धुम्मिने भइरहेको हो । पानी भने पर्न सकिरहेको छैन् । पानी नपर्दा आकाशे पानीको भर रहेको क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन् ।

धानको ब्याड छिप्पिनुका साथै सुकेर गइरहेको छ । कतिपय ठाउँमा रोपेको रोपो पनि पानी नपरेर पटपट फुटेर गइरहेको छ । नहर तथा कुलोको पानी लाग्ने, पप्पसेट, मोटर, समरसियल र डिप बोरिङ चल्ने ठाउँमा भने धान रोपाइँ भइरहेको स्थानीयले बताएका छन् ।

आकाशे वर्षा नभएर जिल्लामा दक्षिणी बेल्टमा खानेपानीको हाहाकार मच्चिरहेको छ । सदरमुकाम मलंगवासहित ब्रम्हपुरी, हरिपूर्वा, पर्सा, चन्द्रनगरलगायत क्षेत्रमा चापाकल सुक्दा स्थानीयले पिउने तथा सरसफाई गर्ने पानीको समस्या झेलिरहेका छन् ।

झमझम झरी पर्नुपर्ने साउन महिनामा टन्टलापुर घाम लागेर खडेरी गइरहँदा स्थानीय आश्चर्य मानिरहेका छन् । पानी नपर्दा हरेक कृषि उत्पादन घट्ने चिन्ता सर्वसाधारणमा छ ।

यो बेला ठूलो बाढी आउने बाँके, कालिन्जोर, फूलजोर, लखन्देहीलगायतका खोलामा चुरेभेगदेखि केही तलसम्मबाहेक पूर्वपश्चिम राजमार्गदेखि दक्षिणतर्फ खोला नै सुक्खा छ ।

पानी नपरेर अत्यधिक गर्मी भइरहँदा जनजीवन प्रभावित बनिरहेको छ । । तर आज भने हावा चलिरहेकाले तुलनात्मकरुपमा गर्मी केही कम छ ।