logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पेस्तोलसहित दुई जना पक्राउ


  • उज्यालो अभियान

मलंगवा, ०९ साउन – प्रहरीले सर्लाही सदरमुकाम मलङ्गवाबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–६, सुखैनिया बस्ने ४२ वर्षीय मोहन पासवान र २३ वर्षीय धनिपत पासवान रहेका छन् । मलङ्गवा नगरपालिका–८, मा गोरखकाली प्रहरी चौकी अगाडि मोटरसाइकलको कागजात चेकजाँच गर्दा ४२ वर्षीय मोहन पासवानको मोवाइलमा पेस्तोलको फोटो देखिएपछि प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लियो ।

बीआर ३० ए १०७१ नम्वरको भारतीय मोटरसाइकलमा सवार पासवानले आफ्नो मोटरसाइकलको कागजात मोवाइलमा रहेको भनी देखाउनेक्रममा आफ्नै १२ वर्षका छोराले कटुवा पेस्तोल ताकेको फोटो प्रहरीलाई देखाउन पुग्दा पक्राउ परेका हुन् । पासवानलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा उक्त पेस्तोल गाउँकै २३ वर्षीय धनिपत पासवानको रहेको बयान दिएका थिए ।

मोहनकै बयानका आधारमा प्रहरी टोली पुगेर धनिपतको घर खानतलासी लिँदा घिरभित्रै लुकाएर राखिएको अवस्थामा कटुवा पेस्तोल बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए । पेस्तोल फेला परेपछि प्रहरीले धनपतिलाई समेत नियन्त्रणमा लिएको हो ।

मोहन र धनिपत दुवैलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो ।