logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जुटपानी र धरहरामा ‘डबल लेन’ को नयाँ पुल बन्ने


  • उज्यालो अभियान

नवलपुर, ०९ साउन – नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी र नयाँरोड–मधुवनी सडक खण्ड अन्तर्गत हरिवन नगरपालिका–१०, धरहरामा नयाँ पुल निर्माण गरिने भएको छ ।

यि दुवै ठाउँमा अहिले ‘सिंगल लेन’ पुल रहेका छन् । हुलाकी सडक आयोजना जनकपुरधामले दुवै स्थानमा अब ‘डबल लेन’ पुल निर्माण गर्न लागेको हो ।

हुलाकी सडक आयोजना जनकपुरका इन्जिनियर एवं सूचना अधिकारी रन्जित यादवले ‘डबल लेन’ पुल निर्माणका लागि तयारी अघि बढाइएको जानकारी दिए । अहिले रहेका पुल अत्यन्त साँघुरो रहेकाले बारम्बार सवारी दुर्घटना भइरहेकाले नयाँ पुल निर्माण गर्न लागिएको इन्जिनियर यादवले बताए । उनका अनुसार पुल बनाउनुपर्ने ठाउँमा बागमती सिँचाई आयोजनाको नहर रहेकाले आयोजनासँग पनि समन्वय भइरहेको छ ।

बागमती सिँचाई आयोजनाले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको पानी यही भएर महोत्तरीतर्फ लाने बताएकाले पानी निकास हुने गरी पुल निर्माण गरिदिन आग्रह गरेकाले पुलका लागि नयाँ डिजाइन बनाउनुपर्ने अवस्था आएको इन्जिनियर यादवले बताए । बागमती सिँचाई आयोजनाका सूचना अधिकारी राजन श्रेष्ठले सुनकोशीको पानी आएपछि समस्या हुने भएकाले पुल निर्माण गर्दा ध्यान दिन सडक कार्यालयको ध्यानाकर्षण गराएको बताएका छन् ।

नवलपुर–मलंगवा सडककै हरिपुर नगरपालिकास्थित फरहदवा ढङ्ग्रा खोलामा रहेको ‘सिंगल लेन’ पुलको ठाउँमा भर्खरै ‘डबल लेन’ पुल निर्माण भइसकेको छ ।

नयाँरोड–बरहथवा सडक खण्डको बरहथवा नगरपालिका–१२, पुरैनियामा भने मुआब्जा विवादले दायाँबायाँको भागमा सडक बन्न नसक्दा पक्की पुल निर्माण भएर पनि संचालनमा आउन सकेको छैन् ।