logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चिताइन मन्दिर परिसरमा पक्की छठघाट निर्माण


  • उज्यालो अभियान

हरिपुर, ०६ साउन – सर्लाहीको प्राचिन धार्मिक एवं पर्यटकीयस्थल चिताइन महादेव मन्दिर परिसरमा पक्की छठघाट निर्माण गरिएको छ ।

मधेश प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपियाँ बजेटबाट हरिपुर नगरपालिका–७, मा रहेको लक्ष्मीनाथ चिताइन महादेव मन्दिर परिसर भएर बग्ने चिताइन खोलामा छठघाट निर्माण गरिएको हो । मन्दिर परिसरको उक्त खोलामा छठ पर्वका बेला वर्षेनि अस्थायी छठघाट निर्माण गरेर पूजा गर्ने गरिएको थियो । अब भने पक्की छठघाट निर्माण भएसँगै छठ पर्वका बेला व्रतालुलाई सहज हुने लक्ष्मीनाथ चिताइन महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले उज्यालो अभियानसँग बताए ।

छठघाट निर्माण भएपछि मन्दिर परिसरमा सँधै फोहोर देखिने चिताइन खोलाको करिव १०० मिटर भाग आकर्षक र सफा देखिएको मन्दिर विकास समितिका अध्यक्ष धामीको भनाइ छ । सर्लाही क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य बेची लुङ्गेलीले छठका व्रतालुका लागि सहजता र धार्मिक स्थलको आकर्षण बढाउने उद्देश्यसहित छठघाट निर्माण गरिएको बताइन् ।

प्रदेश सभा सदस्य लुङ्गेलीकै संसदीय विकास कोषको रकमबाट यसअघि चिताइन मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा धर्मशाला निर्माण भइसकेको छ । चिताइन मन्दिर परिसरमा महाशिवरात्रिको दिन चर्मरोग निको हुने र मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भान्टाको भार र धानको मट्का (मौर) चढाउने प्रचलन रहेको छ ।