लालबन्दी, ०३ साउन – सर्लाहीका २० वटै पालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य प्रारम्भ गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ बमोजिम प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तसम्म नवीकरणको लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकाले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आ–आफ्नो वडा कार्यालयमा पुग्न आह्वान गरेका छन् ।
पर्सा गाउँपालिका पञ्जिकरण शाखाका प्रमुख महेश पाण्डेले पालिकाको छवटै वडामा बिहीबारदेखि नै सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सुरु भएको जानकारी दिए । भदौ मसान्तसम्म नवीकरण नभए सामाजिक सुरक्षा भत्ता प्रणालीबाट स्वत नाम लगत कट्टा भइ चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि सम्वन्धित लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने बताइएको छ ।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतले वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आग्रह गरिएको छ । ईश्वरपुर नगरपालिका पञ्जिकरण शाखाका प्रमुख सरोज चौलागाईले भत्ता बुझ्दै आएका व्यक्ति स्वयम् उपस्थित भएर बायोमेट्रिक नवीकरण गराउनुपर्ने बताए ।
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउनेक्रम सुरु भएसँगै वडा कार्यालयहरुमा चहलपहल बढ्न थालेको छ ।