सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
बरहथवा, ०३ साउन – तस्करसँग मोलमलाइ गरिएको अडियो सार्वजनिक भएपछि सर्लाहीको बरहथवा नरपालिका–११, हिरापुर ब्यारेजस्थित इलाका प्रहरी कार्यालय हिरापुरका सम्पूर्ण प्रहरी परिवर्तन गरिएको छ ।
प्रहरी कार्यालयका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) बैद्यनाथ दासले एक जना तस्करसँग टेलिफोन कुराकानीमा १८ हजार रुपियाँ माग गरेको अडियो शुक्रबार सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक हुनासाथ सइ दास र उहाँले अडियोमा नाम लिएका प्रहरी जवान सन्तोषकुमार यादवलाई तत्कालै निलम्बन गरियो ।
बाहिरिएको टेलिफोन सम्वादबारे थप अनुसन्धानका लागि सइ दास र जवान यादवलाई निलम्बन गरी ‘ख’ स्तरको इलाका प्रहरी कार्यालय हिरापुरका अन्य आठ जना प्रहरी कर्मचारीलाई समेत जिल्ला प्रहरी कार्यालयमा तानिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले उज्यालो अभियानसँग बताए । राईका अनुसार हिरापुरमा तत्कालका लागि इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) तुलसी राउतलाई निमित्त इन्चार्ज बनाएर पठाइएको छ । अन्य प्रहरी भने सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयबाटै पठाइएको डिएसपी राईले बताए ।
हिरापुरमा नयाँ प्रहरी नायब निरीक्षक (सइ) पठाउने विषयमा प्रदेश प्रहरी कार्यालयसँग समन्वय भइरहेको राईको भनाइ छ ।
सइले तस्करसँग रकम माग गरेको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल बुढाथोकीको संयोजकत्वमा अनुसन्धान समिति बनाइएको छ ।