लालबन्दी, ३० असार – सर्लाहीको बाँके जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा घाइते भएका नेपाली सेनाका दुई जना सिपाहीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
सेनाको हेलिकप्टरबाट घाइते सिपाही २३ वर्षीय चन्द्रदेव धामी र २२ वर्षीय प्रशेस चौधरीलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको हो । बिहान पौने ११ बजेतिर ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा दुई सिपाहीसहित पाँच जना घाइते भएका थिए ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ । बाँके–सङ्ग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्वरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक नेपाली सेनाको भगवती दल गण इटहरीमा कार्यरत सिपाही २३ वर्षीय धामी, मोटरसाइकल पछाडि सवार नेपाली सेनाकै मध्य पश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २१ वर्षीय अमित चौधरी घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार पिकअपसँग ठोक्किएपछि मोटरसाइकलमा एक्कासी आगलागी भएको थियो ।
आगलागीबाट मोटरसाइकल चालक धामी बढी मात्रामा जल्नुभएको प्रहरीले बताएको छ । पछाडि सवार अर्का सिपाही र युवक भने चोटपटक लागेर घाइते भएका बुझिएको छ ।
आगोले जलेर घाइते भएका जवान धामीको अवस्था गम्भीर रहेकाले काठमाडौं लैजान हेलिकप्टर मगाइएको र हेलिकप्टर आएकै बेला सामान्य घाइते रहेका अर्का जवानलाई पनि सँगै पठाइएको सर्लाहीस्थित नेपाली सेनाको कालिध्वज गण नवलपुरका गणपति एवं प्रमुख सेनानी (कर्णेल) गोविन्द विष्टले जानकारी दिए । सेनाको हेलिकप्टर आज अपरान्ह पाँचकुमारी ब्यारेकमा अवतरण गरेर घाइते दुई सिपाहीलाई लिएर काठमाडौं गएको हो ।
नेपाली सेनाका सिपाही धामी बिदा सकेर कार्यालयतर्फ जान बाँके चोकमा बस चढ्नका लागि साथीसँग आउँदै गर्दा दुर्घटनामा पर्नुभएको हो । दुर्घटनामा पिकअप चालक हरिवन नगरपालिका–३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका–२, का ६५ वर्षीय लेखनाथ उपाध्याय समेत घाइते भएका छन् ।
पिकअप चालक महतो, त्यसमा सवार उपाध्याय र मोटरसाइकल पछाडि सवार युवकको भने लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) उमाकान्त जोशीले जानकारी दिए । इन्स्पेक्टर जोशीका अनुसार पिकअपसँग ठोक्किएपछि आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेको छ ।
पिकअप गाडीमा भने आगलागी नभएको प्रहरीले जनाएको छ । पिकअपको अगाडिको भागमा मात्रै क्षति पुगेको छ ।
पूर्वपश्चिम राजमार्गको बाँके चोकदेखि करिव एक किलोमिटर दक्षिणतर्फ एकान्त स्थानको जङ्गलमा दुर्घटना हुनासाथ स्थानीय र प्रहरी पुगेर घाइतेको उद्धार गरेका थिए ।