बसबरिया, १४ असार – सर्लाहीको बसबरिया र ब्रम्हपुरी गाउँपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम गरेका छन् ।
यि दुवै पालिकाले चालू आर्थिक वर्ष २०८१/८२ प्रवाह गरिएको सार्वजनिक सेवा तथा विकास निर्माणको समिक्षा र आगामी आर्थिक वर्ष २०८२/८३ मा संचालन हुने कार्यक्रमका सम्वन्धमा सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई गरेका हुन् । बसबरिया गाउँपालिकामा जय माँ मिडिया प्रा.लि. ले गाउँपालिकाको सहयोगमा वडा नं. १ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव, विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीलगायतले कार्यक्रममा आएका गुनासालाई सम्वोधन गरेका छन् । गाउँपालिका अध्यक्ष यादवले सहभागीबाट प्राप्त सुझाव अनुसार आगामी वर्षमा नीति तथा कार्यक्रम तय गरेर बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै ब्रम्हपुरी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. १ स्थित जलधर कमलदेव नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।

पिपुल मिडिया नेटवर्क प्रा.लि. को आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीबाट आएका गुनासा, सल्लाह, सुझावको बारेमा गाउँपालिका अध्यक्ष रामपदारथ साह, उपाध्यक्ष श्यामकला यादव, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउत, गाउँपालिकाको विभिन्न शाखाका प्रमुख र अन्य कर्मचारीले सम्वोधन गरेका छन् ।