मलंगवा, २२ जेठ – जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सडक अनुशासन पालन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आजबाट ट्राफिक सचेतना सप्ताह सुरु गरेको छ ।
‘सेफ ड्राइभ, लङ लाइफ’ भन्ने मूल नारासहित ट्राफिक सचेतना सप्ताहको सुरुवात गरिएको हो । ट्राफिक सचेतना सप्ताहको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
मधेश प्रदेशका आठै जिल्लामा आजबाटै एकैसाथ सुरु गरिएको ट्राफिक सचेतना सप्ताहको उद्घाटनको अवसरमा सर्लाही सदरमुकाम मलंगवा बजारमा प्रभातफेरि निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनायो । सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक रजोश घिमिरेले एक हप्तासम्म अभियानका रुपमा चलाउन लागिएको ट्राफिक सचेतना सप्ताह अन्तर्गत यात्रु, सवारी चालकलगायतलाई सडक सुरक्षाको सम्वन्धमा सचेतना प्रदान गरिने उज्यालो अभियानसँग बताए ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख सिंहले पछिल्ला दिनमा ट्राफिक नियमको पालनामा बेवास्ता र सडकको खराब अवस्थाले गर्दा जताततै सडक दुर्घटना वृद्धि भएको बताएका छन् । उनले नयाँ सडक निर्माण गर्दा नै दुर्घटनाबारे ख्याल नगरी जथाभावी घुम्ती, पुल, पुलेसा बनाइँदा समस्या भइरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चालक स्वयं पनि दुर्घटनाको सम्वन्धमा जिम्मेवार हुने भएकाले लापरवाही ढङ्गले सवारी चलाउन छाड्न आग्रह गरे ।
सर्लाहीमा पछिल्ला दिनमा सवारी दुर्घटनामा मानिसको मृत्यु हुनेक्रम अत्यधिक बढिरहेको छ । विगत १८ दिनको अवधिमा सवारी दुर्घटनामा परेर १० जनाको मृत्यु भइसकेको छ ।