logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बगदह घटना : अनुसन्धान गर्दै प्रहरी, कांग्रेस–माओवादी आरोपप्रत्यारोपमा


  • उज्यालो अभियान

सर्लाहीको बगदहमा दुर्घटनामा परेको कांग्रेस नेता हरिनन्दन प्रसाद यादव सवार गाडी । (तस्बीर : निरज यादव/उज्यालो अभियान)

गोडैता, ०८ जेठ – सर्लाहीको गोडैता नगरपालिकास्थित बगदहमा हिजो भएको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत  बगदहको चिनी मिल नजिक हिजो अपरान्ह नेपाली कांग्रेसका नेता एवं रामनगर गाउँपालिकाको अध्यक्षका प्रत्यासी हरिनन्दन प्रसाद यादव चढेको बीआर ०५ पिए ८६३५ नम्वरको भारतीय स्कारपियो गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा २ जनालाई सामान्य चोट लागेको प्रहरीले बताएको छ ।

उक्त स्कारपियो जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी सरोज राईले अहिले बिहान उज्यालो अभियानसँग बताए । यो घटनापछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आरोप–प्रत्यारोपमा उत्रिएका छन् । उनीहरुले एकले अर्कोविरुद्ध आक्रमणको प्रयास गर्दा घटना भएको दावी गरेका छन् ।

यसै घटनालाई लिएर हिजो बेलुका कांग्रेस र माओवादी केन्द्रले घटनास्थल तथा रामनगर क्षेत्रमा प्रदर्शन समेत गरेका छन् । सुरक्षा अधिकारीले भने घटनालाई राजनीतिक रंग दिइएको बताएका छन् । सो घटनामा गोली चलेको भनिए पनि त्यसको पुुष्टी नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।

दुर्घटनामा परेका कांग्रेस नेता हरिनन्दन प्रसाद यादव माओवादी केन्द्रका नेता एवं संविधान सभा सदस्य शिवपुजन रायको भाई हुन् । उनीहरुकै समूह अहिले एकले अर्कालाई विभिन्न आरोप लगाउन लागिपरेका छन् ।