लालबन्दी, २६ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी सिस्वामा निर्माण हुन लागेको थारु संस्कृति संरक्षण प्रवर्द्धन केन्द्र अर्थात् थारु संग्राहालयको आज शिलान्यास गरिएको छ ।
थारु संग्राहालय भवनको बिहान संविधानसभा सदस्य रामचन्द्र चौधरीले शिलान्यास गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय काठमाडौंबाट प्राप्त अनुदान रकमबाट थारु संग्राहालय बनाउन लागिएको लालबन्दी नगरपालिका–३, का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।
मन्त्रालयबाट प्राप्त ५५ लाख रुपियाँबाट थारु संग्राहालय भवन निर्माण गर्न लागिएको हो । थारु संस्कृति संरक्षण प्रवर्द्धन केन्द्रको भवन शिलान्यास कार्यक्रममा थारु समुदायका अगुवा अमिरी चौधरी, उदयनारायण चौधरी, ईश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जितादेवी चौधरी, लालबन्दी र ईश्वरपुर नगरपालिकामा थारु समुदायबाट निर्वाचित जनप्रतिनिधि, थारु अगुवा, निर्माण व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो ।
भवन निर्माण भएपश्चात थारु समुदायको भेषभुुषा, संस्कृति र परम्परा झल्कने विभिन्न सरसामग्री, बाजा, पोसाकलगायत प्रदर्शनीमा राखिने थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीका सभापति सूूर्यनारायण चौधरीले बताए ।
थारु संग्राहालय निर्माण हुन लागेको भवनमा थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीको भवन समेत निर्माण भइरहेको छ ।