ईश्वरपुर १३ मा हात्तीले भत्काएको घर । (तस्बीर : उज्यालो अभियान)
फूलजोर, ०९ फागुन – उत्तरी भेगस्थित लालबन्दी र ईश्वरपुर नगरपालिकाको जंगल आसपासको क्षेत्रमा हात्ती आतंक कायमै रहेको छ ।
गएराति लालबन्दी र ईश्वरपुरको सीमास्थित फूलजोर क्षेत्रमा जंगली हात्तीको समूह देखा परेको छ । स्थानीय वासिन्दाबाट खबर आएपछि प्रहरी परिचालन भएर गएपनि कुनै क्षति गरेको विवरण प्राप्त नभएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । ३ रातदेखि यस क्षेत्रमा जंगली हात्ती देखा परिरहेको छ ।
हात्ती आएको खबरले जंगल छेउछाउ पर्ने तथा जंगलको बाटो भएर हिँड्नुुपर्ने ईश्वरपुरको गौरीशंकर, श्रीनगर, सागरनाथ, फूलजोर, घारिबथान तथा लालबन्दीको रानिगन्ज, परवानीपुुर, हीरापुर क्षेत्रका स्थानीयमा त्रास सिर्जना भएको छ ।
आफ्नो पुर्खा हिँड्ने गरेका बाटो भएर हिँड्ने हात्ती वर्षेनि यही याममा यस क्षेत्रमा आइपुुग्ने गरेका छन् । ती हात्ती पछि आफै पर्सा वन्यजन्तु आरक्षतर्फ फर्किएर जाने गरेका छन् ।
डिभिजन वन कार्यालयले जंगली हात्तीलाई जथाभावी नजिस्काउन आग्रह गर्दै आइरहेको छ ।
महोत्तरीको गौशालातर्फबाट बाँके खोला पारेर गरेर सर्लाही आइपुुगेको हात्तीले बुधबार राति लालबन्दी १७ रानिगन्जमा स्थानीय शिवहरि गौतमले व्यावसायिक रुपमा गरेको केरा खेतीमा पसेर २०० बढी केराको बोट तथा नजिकमा अन्य किसानले लगाएको मकै नष्ट गरेको थियो भने मंगलबार राति ईश्वरपुर १३ श्रीनगरमा ८६ वर्षीया वृद्धा धनमाया तामाङको भान्सा घर भत्काइदिएको थियो ।