मलंगवा, ०८ फागुन – संघीय सांसद डा. अमरेशकुमार सिंहको कार्यक्रममा सरिक भएको भन्दै नेपाली कांग्रेस सर्लाहीले क्षेत्र नं. २ का क्षेत्रीय सभापति कौशलकिशोर रायलाई स्पष्टिकरण सोधेको छ ।
मधेश सरकारका श्रम तथा यातायात मन्त्री समेत रहेका रायलाई नेपाली कांग्रेस सर्लाही जिल्ला अनुशासन समितिका संयोजक एवं जिल्ला उपसभापति डा. सरोज कुुमारले हस्ताक्षर गरेर स्पष्टिकरण सोधेका हुन् । क्षेत्रीय सभापति राय फागुन ३ गते क्षेत्र नं. ४ को बलरामा सांसद सिंहले आयोजना गरेको सेवानिवृत्त तथा हालकार्यरत शिक्षकहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सरिक भएका थिए ।
डा. अमरेशकुमार सिंह गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट चुनाव लडेर सांसदमा निर्वाचित भएका थिए । जिल्ला उपसभापति तथा अनुशासन समितिका संयोजक डा. सरोज कुमारले क्षेत्रीय सभापति तथा प्रदेश सरकारका मन्त्री रायलाई सोधिएको स्पष्टिकरणमा अन्य राजनीतिकर्मी तथा नेताहरुको कार्यक्रममा सहभागी भएर आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप र गालीगलौच गरिएको उल्लेख गरिएको छ ।
फागुन ६ गते नै सोधिएको स्पष्टिकरणमा क्षेत्रीय सभापति रायलाई ७ दिनभित्रमा स्पष्टिकरण बुुझाउन भनिएको छ ।
सर्लाहीमा कांग्रेसको संस्थापन र इतर पक्षबिच तित्तता रहेको छ । स्पष्टिकरण सोधिएका क्षेत्र नं. २ का क्षेत्रीय सभापति राय इतर समूह र स्पष्टिकरण सोध्ने संस्थापन पक्ष हो ।