logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस (तस्बीरहरु)


  • उज्यालो अभियान

मलंगवा, ०७ फागुन – ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज सर्लाहीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सदरमुकाम मलंगवामा प्रभातफेरी, झण्डोत्तोलन, रक्तदान र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको हो । दिवसको अवसरमा बिहान सबेरै मलंगवा बजार क्षेत्रमा प्रभातफेरी निकालियो । त्यसपश्चात जिल्ला प्रशासन कार्यालयमा झण्डोत्तोलन, सोही कार्यालयमा रक्तदान कार्यक्रम र ३ बिघे मैदानमा राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए ।

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टिमले जनप्रतिनिधिको टिमलाई १०५ रनले पराजित गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक कौशलकिशोर सिंहको अध्यक्षतामा आयोजित प्रजातन्त्र दिवस समारोहमा सुरक्षा अधिकारी, कार्यालय प्रमुख, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा जिल्लाका सरकारी कार्यालय तथा निकायमा झण्डोत्तोलनसहितका कार्यक्रम सम्पन्न गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज साँझ जिल्लाभर दीप प्रज्वलन गर्ने तयारी गरिएको छ ।

२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो ।

यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।

प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।