मलंगवा, ०६ फागुन – राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को पूर्वसन्ध्यामा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत् बिरामीलाई फलफूल वितरण गरिएको छ ।
प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको नेतृत्वमा बिरामीलाई फलफुल वितरण गरिएको हो । संयोजक सिंहसँगै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतोलगायत अस्पताल पुुगेर उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरेका छन् ।
प्रजातन्त्र दिवस भोली मनाइँदै छ । सर्लाहीमा यो दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने यसअघि नै निर्णय भइसकेको छ ।
दिवसको मुख्य दिन भोली सदरमुकाम मलङ्गवामा प्रभातफेरि, झण्डोत्तोलन तथा मन्चको कार्यक्रम, रक्तदान र जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
मूल समारोह समितिले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान र निकायहरुमा राष्ट्रिय झण्डा फहराउन र आज, भोली र पर्सी घरघरमा समेत दीप प्रज्वलन गर्न आब्हान गरेको छ ।