मलंगवा, ०४ फागुन – सर्लाहीबाट सरुवा भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाललाई आज बिदाई गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १० गण अगर्वा सर्लाहीबाट राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सरुवा भएका सशस्त्र प्रहरीका एसपी खनाललाई जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । उनलाई प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धानका निमित्त जिल्ला प्रमुख रामरिझन यादवले अबिर, खादा र मायाको चिनो प्रदान गरी बिदाई गरेका छन् ।
सोही अवसरमा सर्लाहीको सशस्त्र प्रहरी प्रमुखका रुपमा सरुवा भएर आएका एसपी देवबहादुर चन्दलाई समेत जिल्लाका सुरक्षा अधिकारी भएर स्वागत गरेका छन् ।
कर्मचारी मिलन केन्द्र सर्लाहीले पनि आजै सशस्त्रका एसपी खनालको बिदाई तथा चन्दको स्वागत कार्यक्रम सम्पन्न गरेको केन्द्रका अध्यक्ष एवं डिभिजन वन प्रमुख सन्तोष झाले बताए ।
सदरमुकाम मलंगवामा उपलब्ध जिल्लाका संचारकर्मीले पनि एसपी द्वयको बिदाई तथा स्वागत कार्यक्रम गरेका छन् ।